Saturday, June 13, 2020

सबै गर्भ फाल भन्छन्, तर म बच्चा जन्माएर हुर्काउँछु

जनकपुरधाम- परिवार सम्पन्न छ, त्यसैले उनले गाउँमै भए पनि निजी विद्यालयमा पढ्न पाइन् । एसईई उत्तीर्ण गर्नेबित्तिकै आमाबुबाले काठमाडौं पढ्न पठाए ।


घर–परिवारमा माया–ममताको कुनै कमी रहेन । काठमाडौंमा रहँदा पनि घरबाट हेरचाहमा कुनै कमी भएन । आमाबुबाले दैनिक फोन गरेर हालखबर सोधिरहन्थे ।

त्यसरी लाडप्यारमा हुर्केकी छोरी अहिले न्यायका निम्ति भौतारिरहेकी छन् । साथ दिने कोही छैन, जताततै दुत्कारै दुत्कार छ । अति माया गर्ने आमाबुबा समेत टाढिएका छन् । उनी घर जानै सक्दिनन् । 

दुर्दिनको यो अवस्थामा उनलाई स्कुले जीवनको एकजना साथीले आश्रय दिएका छन् । साथीको घरमा दिन गुजारिरहँदा उनको मनभित्र पीडाको ज्वारभाटा चलिरहेको छ ।

तैपनि उनी भन्छिन्, “जसले जेसुकै भनोस्, म जीवनमा अगाडि बढ्छु, भोलिको समयलाई सामान्य बनाउँछु ।” महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरकी यिनी २० वर्षको उमेरमा गर्भवती भएकी छन् ।

डाक्टरले साउन दोस्रो साता ‘डेलिभरी’ हुने भनेका छन् । सुत्केरी हुने समय नजिकिँदै गर्दा सबै आफन्तबाट एक्लिएकी उनी साथीको घरमा चिन्तित अवस्थामा छिन् । ‘मन बाँधेर अगाडि बढ्ने कोसिसमा छु’, उनी भन्छिन्, ‘तर मान्छेको मन हो, दुखिरहँदो रहेछ ।’

फेसबुके प्रेमले घर निकाला


अहिले सामाजिक सञ्जालको युग छ । यसमा पनि फेसबुक नयाँ पुस्ता माझ बढी लोकप्रिय छ । यही फेसबुक चलाउँथिन् यी युवती पनि ।

घर–परिवारलगायत सबैसँग फेसबुकबाट निरन्तर सम्पर्कमा रहन्थिन् । त्यही क्रममा धनुषाको महेन्द्रनगर घर भएका एक युवक पनि उनको फेसबुक फ्रेण्ड बन्न पुगे । फेसबुकमा च्याट गर्दागर्दै दुवै एक अर्कालाई भेट्न इच्छुक बन्न थाले ।

काठमाडौंमा ११ कक्षा सकेपछि यी युवती १२ कक्षा पढ्न घर नजिकको सहर जनकपुरधाम फर्किनुपर्ने वातावरण बन्यो । फेसबुक च्याटमा आइरहने शिवराज श्रेष्ठसँग उनको पहिलो भेट जनकपुरमै भयो । उनीहरू प्रेममा परेको कुरा पनि पहिलो भेटमै पक्का भयो । 

जनकपुरधाममा मोवाइल पसल चलाउने शिवराजसँग युवतीको भेटघाट बाक्लिनु स्वभाविक बन्यो । शिवराजले उनलाई परिचय गराउन आफ्नो घर पनि लगे । जनकपुरमा दिनहरू बित्ने क्रममा शिवराज र युवतीको प्रेम सम्बन्ध अझ गहिरिँदै गयो ।

विवाह गर्ने, जुनीभरि एक रहने अनेक वाचा–कसम भए । त्यही क्रममा युवती गर्भवती भइन् । ‘त्यसपछि टाढिन थालेका शिवराज अहिले बेपत्ता भएका छन्’, युवती भन्छिन्, ‘पहिला असल मानिस लागेका उनका बुबाआमा पनि मलाई नचिन्ने भएका छन् ।

गर्भ फाल्न दबाब


युवतीको भनाइ अनुसार, सुरुमा शिवराजले गर्भ फाल्न निकै करबल गरेका थिए । ‘त्यसपछि उनका आमाबुबाले पनि गर्भ फाल्न दबाब दिए’, युवती भन्छिन्, ‘तर मैले मानिन । त्यसपछि त शिवराज नै सम्पर्कविहीन बने ।

पढाउनलाई खर्च गरेर जनकपुर राखेकी छोरी दोजिया भएको थाहा पाएपछि आमाबुबाले पनि धिक्कार गर्न थाले । एकपटक बुबा आएर घर लैजाँदा आफूलाई ढुक्क लागेको, तर घरमा सबैले गर्भ फाल्न दबाब दिएको उनी बताउँछिन् ।

त्यसपछि अर्को कुनै असल केटासँग विवाह गर भन्न थाल्नुभयो’, उनी भन्छिन्, ‘तर मैले मान्दै मानिनँ । म आफ्नो पहिलो बच्चालाई कुनै हालतमा जन्माएर हुर्काउन चाहन्छु ।

न्यायका लागि पुकार


अहिले उनी विभिन्न संघ–संस्थामा निवेदन दिएर न्यायको पर्खाइमा छिन् । यी संघ–संस्थाका पनि कतिपय व्यक्तिले गर्भ फाल्न दबाब पनि दिएको उनी बताउँछिन् ।

तीमध्ये पनि सुजाता नामकी अधिकारकर्मीले ओरेक, नेपालको सेफ हाउसमा बस्दा गर्भपतन गराउन चर्को मानसिक दबाब दिएको उनको आरोप छ । उनी भन्छिन्, ‘मेरो उजुरीमा धनुषा प्रहरीले बोलाएका शिवराजका आमाबुबालाई प्रदेशसभा सदस्य प्रेममाया श्रेष्ठको जमानीमा छाडियो ।

अहिले प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले न्याय दिलाउने विश्वास दिलाएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘म त खाली आशा गरेर बस्न बाध्य छु, हेरौं के हुन्छ !’

No comments:

Post a Comment

Flag Counter

Blog Archive