Tuesday, August 4, 2020

लम्जुङको दोर्दीमा तुइन चुँडिदा एक महिला बेपत्ता

लम्जुङमा तुइन चुँडिएर एक महिला दोर्दी खोलामा बेपत्ता भएकी छन् ।

दोर्दी खोलामाथिको तुइनको डोरी चुँडिएर दोर्दी–६ सिमी घर भई कीर्तिपुरबेंसी बस्ने २५ वर्षीया फूलमाया गुरुङ बेपत्ता भएकी हुन् ।


उनलाई अझै फेला पार्न नसकिएको लम्जुङका डीएसपी गंगाबहादुर थापाले जानकारी दिए ।

‘दुईवटा प्रहरी चौकीबाट खोजी टोली परिचालित भएको छ, तर अहिलेसम्म फेला पार्न सकिएको छैन,’ डीएसपी थापाले भने ।

उनले आज पनि खोजी कार्य जारी राखिएको बताए ।

स्थानीयले तुइन चुँडिएको स्थानबाट करिब पाँच सय मिटर तलसम्म महिलालाई बगेको देखेको बताएका थिए । 

फूलमायासँगै तुइनमा चढेका १७ वर्षीय विकास घले भने चुडिएको डोरी समातेर जोगिएका छन् ।

उनीहरु जनैपूर्णिमाको दिन जलकन्यादेवी मन्दिरमा पूजा गर्न जाँदै थिए । यो घटना सोमबार मध्याह्नतिरको हो ।

सरकारले दुई वर्षभित्र देशभरबाट तुइन बिस्थापित गर्ने घोषणा गरे पनि अझैसम्म विस्थापित भएको छैन ।

तुइनबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदा मानवीय क्षति भएका समाचार सार्वजनिक हुँदै आएका छन् ।

यसै महिना मकवानपुरमा तुइनबाट खसेर हेटौंडा उपमहानगरपालिका–१ का ७७ वर्षीय कृष्णप्रसाद पराजुलीको मृत्यु भएको थियो ।

प्रकाशित मिति: २०७७ श्रावण २०

No comments:

Post a Comment

Flag Counter